बागलुङ । बागलुङ–कुश्मिशेरा सडकखण्ड तीन महिनापछि एकतर्फी खुलेको छ । नगरपालिका– १० दब्लाङमा गएको पहिरोले तीन महिनादेखि बन्द रहेको बागलुङ–कुश्मिशेरा सडकखण्ड एकतर्फी सञ्चालनमा आएको हो ।
तीन महिनादेखि बन्द रहेको सडक दुई साता अघिबाट मर्मत शुरु गरिएको थियो । दशैंअघि सडक सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् । लामो समयदेखि सडक बन्द हुँदा स्थानीयले सास्ती खेप्दै खाएका थिए ।
मर्मत गर्न यसअघि नै शुरु गरिए पनि वर्षाका कारण मर्मत गरेको सडक पहिरोले बगाएपछि सडक सुचारु गर्न ढिला भएको मालढुंगा–कुश्मिशेरा सडक मर्मत समितिका अध्यक्ष यादव शर्माले बताए।
बाग्लुङ नगरपालिकाको जनश्रमदानसहित कुल २० लाख ९३ हजार रुपैयाँ विनियोजन गरी मर्मतको काम अगाडि बढाइएको थियो।