काठमाडौं । नारायणगढ–बुटवल सडकखण्डका विद्युतका पोलहरु धमाधम हटाउन थालिएको छ । सडकखण्डअन्तर्गतका संरचना हटाउने क्रममा धमाधम विजुलीका पोल हटाउन थालिएको हो ।
संरचना हटाउने काम हालसम्म आठ प्रतिशत सकिएको आयोजनामा अबको ६ महिनामा ३० प्रतिशत प्रगति हुने अपेक्षा गरिएको छ। अहिलेको कामको गति हेर्दा एक वर्ष अवधि थप्दा ८० देखि ९० प्रतिशतसम्म प्रगति हुने देखिएको बुटवल–नारायणगढ सडक आयोजनाका प्रमुख रमेशकुमार दृष्टिले जानकारी दिए।
राष्ट्रिय राजमार्गमध्ये बढी सवारी चाप रहेको पूर्व–पश्चिम राजमार्गको सो खण्डमा अहिलेसम्म न्यून मात्रै भौतिक प्रगति छ। केही दिन पहिलेसम्म सडकमा विद्युतको पोल स्थानान्तरण भइरहेको थियो। दसैँलगत्तै त्यसले निरन्तरता पाउने उनले बताए ।
पुल निर्माणका लागि पोल स्थानान्तरणको काम भइरहेको आयोजनाले जनाएको छ । यस खण्डमा खानेपानीको पाइपको अवरोध छैन भने रूख काट्ने काम ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ। साढे तीन वर्ष अवधिमध्ये पहिले यहाँको संरचनाका कारण अवरोध पुगेको थियो भने झन्डै डेढ वर्षदेखि कोभिडका कारण नियमित काम हुन सकिरहेको छैन।