तनहुँ । देवघाट गाउँपालिकास्थित शालिग्राम कोरिडोरमा पहिरोले भत्किएको बाटो मर्मत नहुँदा यात्रु समस्यामा परेका छन् । शालिग्राम कोरिडोरअन्तर्गत कोटा भतेरीदेखि बञ्चरेपहरा खण्डको अधिकांश स्थानमा पहिरोले भत्किएको बाटो अझै मर्मत नहुँदा समस्या भएको हो ।
वर्षाका कारण गत असार साउनमा गएको पहिराले बाटो अवरुद्ध हुँदा दशैंमा घर जान सर्वसाधारणलाई समस्या भएको छ ।गाउँपालिकाले दशैंमा बाटो खुलाउने प्रयास नगर्दा सर्वसाधारण हिँडेरै घर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । पहिराले बाटो अवरुद्ध हुँदा देवघाट गाउँपालिका–२ र देवघाट गाउँपालिका–३ का मानिसलाई प्रत्यक्ष असर परेको छ ।
गाउँपालिकाले उक्त मार्गलाई गत भदौ अन्तिमभित्रै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए पनि काम नभएपछि चाडाबाडको समयमाा समस्या परेको स्थानीयको गुनासो छ । चितवन, नवलपुरलगायतका ठाउँबाट पुख्र्यौली घर फर्किएका स्थानीयवासी जोखिम मोलेर गन्तव्यतर्फ जान यतिबेला बाध्य भएका छन् ।