काठमाडौं। शिवम् सिमेन्टको एक वर्षको अवधिमा रू १६ अर्ब ५३ करोड ९३ लाख ८० हजार बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दिएको जानकारी अनुसार उक्त रकम बराबरको १ करोड १८ लाख ३२ हजार ४४३ कित्ता शेयर कारोबार भएको हो ।
यस वर्ष हालसम्मकै २९ प्रतिशत लाभांश वितरण गरेको कम्पनीको शेयरमूल्य एक वर्षमा प्रतिकित्ता रू १ हजार ५० ले घटेको छ ।
एक वर्ष अघि रू १ हजार ९१० रहेको कम्पनीको शेयरमूल्य पछिल्लो कारोबार दिन रू ८६० कायम भएको हो। गत वर्ष भदौ २ गते नेप्सेले ऐतिहासिक ३ हजार २०० विन्दु पार गरेको थियो। पछिल्लो समय नेप्से परिसूचक २ हजार २२३ दशमलव ७८ विन्दुमा झरेको छ । धितोपत्र दोस्रो बजार घटेसँगै कम्पनीको शेयरमूल्यमा पनि असर परेको हो ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म शिवम् सिमेन्टले रू ६५ करोड ४८ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा ३९ दशमलव ९३ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू १ अर्ब ९ करोडभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको कुल आम्दानी घटेको र कुल खर्च बढेकाले खुद नाफामा असर परेको हो ।
गत वर्ष रू। ७ अर्ब ३९ करोडभन्दा बढी कुल आम्दानी गरेको कम्पनीले यस वर्ष रू। ७ अर्ब २९ करोडभन्दा बढी मात्र कुल आम्दानी गरेको हो । कुल खर्च भने गत वर्ष रू। ६ अर्ब ९ करोडभन्दा बढी रहेकोमा यस वर्ष रू। ६ अर्ब ५१ करोडभन्दा बढी भएको छ । हाल कम्पनीको चुक्तापूँजी रू। ४ अर्ब ४० करोड रहेको छ ।
शेयर प्रिमियम रकम रू। ९५ करोड ६२ लाखभन्दा बढी रहेको कम्पनीको जगेडा कोष रू। ३ अर्ब ८२ करोड ९२ लाखभन्दा बढी रहेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू। १९ दशमलव ८४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू। २०८ दशमलव ७६ रहेको छ ।