काठमाडौं। जुम्लामा सोलार प्लान्ट जडान गरिने भएको छ। चन्दननाथ नगरपालिका–३ स्थित घुघुती पावरहावस नजिक १५ सय किलोवाटको सोलार प्लान्ट जडान गरिने भएको हो।
राष्ट्रिय प्रसारणलाईन पुगेपनि नियमित रुपम विद्युत आपूर्ति नहँदा उक्त ठाउँका स्थानीय समस्यामा परेका छन्। जुम्लामा नियमित रूपमा विद्युत आपूर्ति हुन नसकेपछि विकल्पका रूपमा सौर्य ऊर्जाको व्यवस्थापन गर्न लागिएको छ। विद्युत आपूर्तिलाई थप सहज बनाउन १५ सय किलोवाट क्षमताको सोलार प्लान्ट राख्न थालिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र जुम्लाले जनाएको छ।
सोलार प्लान्टबाट बिजुली निकाल्नका लागि अन्तिम प्रयत्न भइराखेको छ। नेपाल विद्युत प्राधिकरण काठमाडौंबाट पीएमडी शाखाबाट तीनजना इन्जिनियरको टोली जुम्ला पुगेर फर्किसकेको छ। प्लान्ट राख्न एक स्थान छानेर फर्किएको छ । चाँडै सोलार जडान र बत्ती उत्पादन गरी वितरण गरिने बताईएको छ।
चन्दननाथ नगरपालिकामा सात सय किलोवाट बिजुली खपत हुन्छ। १५ सय किलोवाट सोलार प्लान्ट स्थापना भए पश्चात नगरबासीलाई बिजुली आपूर्तिमा निकै राहत मिल्ने विश्वास गरिएको छ।
सोलार प्लान्ट राख्न सुरु भएपछि नियमित रुपमा बिजुली बाल्ने जुम्लावासीको धोको पूरा हुने आशा गरिएको छ।