काठमाडौं। नेपालमा पेट्रोलको मूल्य बढ्ने सम्भावना देखिएको छ। पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर नेपालमा हटाए पनी अन्तराष्ट्रिय बजारबाट आउने पेट्रोलको मूल्यका कारण नेपालमा पेट्रोलको मूल्य बढ्ने सम्भावना देखिएको हो।
गत जेठ १५ गते आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले पेट्रोलियम पदार्थको मूल्य घटाउने बताएका थिए। अहिले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैँया पूर्वाधार कर हटाईएको छ।
रुस र युक्रेनबीचको युद्वका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि नेपालमा पनि इन्धनको मूल्यमा बढेको थियो। पेट्रोलियम पदार्थको मूल्यमा भएको उच्च वृद्धिका कारण उपभोक्ता मारमा परेपछि पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैँया कर हटाईएको हो।
भारतीय आयल कर्पोरेसन (आइओसीले) जेठ १८ गते नेपालका लागि नयाँ पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचि पठाएको छ। उक्त नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य ८ रुपैँया २१ पैसाले बढेर आएको छ। यसैगरी मट्टितेलको ६ रुपैँया ९८ पैसा बढेर आएको छ भने डिजेलको मूल्यमा ६ रुपैयाँ ४० पैसाले घटेर आएको छ। अन्तराष्ट्रिय बजारबाट आएको मूल्य अनुसार नेपाल आयल निगमलाई अब पेट्रोलमा २२ रुपैयाँ ९३ पैसा घाटा हुने छ भने डिजेलमा १९ रुपैयाँ ७३ पैसा घाटा हुन पुगेको छ। यसैगरी खाना पकाउने ग्यासको मूल्यमा १२२ रुपैयाँले घटेर आएको छ। जसमा प्रति सिलिन्डर ७५१ रुपैयाँ निगमले घाटा बेहोर्नु परेको छ।
विभिन्न सरोकारवाला निकायले बढेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोध गर्दै आए पनि नेपाल आयल निगमले अन्तराष्ट्रिय स्तरमा नै पेट्रोलियम पदार्थको मुल्य बढेकोले निगमको घाटा बढेको भन्दै पटक पटक मुल्य बढाउदै आएको छ। अन्तराष्ट्रिय बजारबाट निर्यात भएर आउने पेट्रोलियम पदार्थको मूल्य अन्तिराष्ट्रिय स्तरमा नै बढेपछि नेपाल आयल निगमले आफ्नो घाटा कम गर्न पुनःमूल्य बढाउने सम्भावना देख्न सकिन्छ।