म्याग्दी । जिल्लाको बेनी नगरपालिका–८ स्थित ऐतिहासिक बेनीकोत पुनःनिर्माण गरिने भएको छ । सात सय वर्ष पुरानो बेनीकोत पुनःनिर्माण, व्यवस्थापन र संरक्षण गर्न थालिएको हो ।
तत्कालीन पर्वत राज्यको शीतकालीन राजधानी बेनीमा तेह्रौँ शताब्दीमा निर्माण भएको कोतघर जीर्ण भइसकेको थियो । बेनी नगरपालिकाले जिल्ला सदरमुकाममा रहेको ऐतिहासिक कोतघरलाई पर्यटकीयस्थलको रुपमा विकास गर्न व्यवस्थापन र संरक्षणको काम सुरु गरेको हो ।
नगर कार्यपालिकाका प्रवक्तासमेत रहेका वडाध्यक्ष रामकृष्ण बराइलीले चालु आर्थिक वर्षमा दुई शीर्षकमा विनियोजन गरिएको रु १३ लाखबाट कोतघर पुनःनिर्माण र व्यवस्थापनको काम थालिएको बताए ।
सार्वजनिक जग्गामा घेराबार, पर्खाल, रेलिङ निर्माण र भुइँमा इँटा राख्ने काम भइसकेको छ । यसअघि उपयोगविहीन रहेको सो जग्गामा अहिले बालबालिका खेल्न र ज्येष्ठ नागरिकलाई टहलिन मिल्ने गरी पूर्वाधार बनाइएको छ ।
साँघुरो ठाउँ र सडक भएको बेनीमा भेला, बैठक, सभा सञ्चालनका लागि पनि सो जग्गा उपयोगी हुने देखिएको छ । विसं १६३१ देखि नेपाल एकीकरण नहुँदासम्म ३४२ वर्षसम्म तत्कालीन पर्वत राज्यको शीतकालिन राजधानी बेनी थियो । प्राध्यापक कर्णबहादुर बानियाद्वारा लिखित ‘म्याग्दीको इतिहास, संस्कृति र सम्पदा’ नामको पुस्तकमा पर्वत राज्यका राजा हिउँदमा बेनी र गर्मीयाममा ढोलथानमा बसेर राज्य सञ्चालन गरेको उल्लेख छ ।