धनगढी । धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम शुरु भएको छ । निर्माण प्रक्रिया शुरु गरिएको डेढ दशकपछि धनगढी–दिपायल द्रुत मार्गअन्तर्गतको धनगढी–स्याउले खण्डमा कालोपत्र गर्ने काम शुरु गरिएको हो ।
धनगढीको पीपलचौतारादेखि स्याउलेभन्दा माथिसम्मको १३.४ किलोमिटर सडक कालोपत्र गर्नका लागि काम सुरु भएको धनगढी–दिपायल द्रुत मार्ग सडक आयोजना कार्यालयले जनाएको छ ।कालोपत्रका लागि १६ करोड ४० लाखमा ठेक्का सम्झौता गरिएको बताइएको छ ।
धनगढी–दिपायल द्रुत मार्ग आयोजना कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार चालु आर्थिक वर्षमा धनगढीदेखि १३.४ किलोमिटर र दिपायलदेखि ९.५ किलोमिटर सडक कालोपत्र गर्ने सम्झौता भएको छ । स्याउलेदेखि दक्षिणतिर एक किलोमिटरसम्म दुवैतर्फ नालीसमेत निर्माण भइरहेको उनको भनाइ छ । ठेक्का सम्झौताअनुसार ३० महिनामा सो सडक खण्ड कालोपत्र गरिसक्ने भन्नेछ ।
डोटी खण्डमा ट्र्याक खोल्ने काम सकिएको छ भने कैलाली खण्डमा पर्ने बबैनामा तीन किलोमिटरमा ट्र्याक खोल्न बाँकी रहेको आयोजना कार्यालयले जनाएको छ ।