काठमाण्डौं। अर्धजलाशययुक्त फुकोट–कर्णाली जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआइए) अन्तिम चरणमा पुगेकोछ। विद्युत् उत्पादन कम्पनीले तयार पारेको ईआइए प्रतिवेदन ऊर्जा मन्त्रालयले स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पठाएको हो।
४८० मेगावाट क्षमताको फुकोट–कर्णाली जलविद्युत् आयोजनाले ईआइए स्वीकृति माग गरेको छ। सम्भाव्यता, डिटेल डिजाइन तथा बिडिङ डकुमेन्ट लगायतका काम सकिसकेको र इआइए रिपोर्ट स्वीकृति हुने क्रममा रहेको जलविद्युत आयोजनाले जनाएको छ।
आयोजनाले सर्वेक्षण अनुमति पाएको भए पनि उत्पादनका लागि लाइसेन्स लिन बाँकी रहेको बताईएको छ। आउँदो असार महिनामा उत्पादन लाइसेन्सका लागि आवेदन दिने योजना रहेको आयोजनाले जनाएको छ। उक्त आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) का लागि पनि नेपाल विद्युत् प्राधिकरणमा आवेदन दिएको छ।