काठमाडौं। अब १० करोडभन्दा धेरै कारोबार गर्ने सम्पूर्ण निर्माण व्यवसायीले ई–विलिङ्ग जारी गर्नुपर्ने भएको छ। आव २०७७/७८ वा २०७८/७९ को मूल्य अभिवृद्धि कर तथा आय विवरणमध्ये कुनै एक आवको कारोबार रकम १० करोडभन्दा बढी भएका निर्माण कम्पनीसहित सबै करदाताले ई–विलिङ्ग जारी गर्नुपर्ने भएको हो।
१० करोड भन्दा तल कारोबार गर्ने निर्माण कम्पनीलाई अनिवार्य नभए पनि ईच्छुक कम्पनीले भने ई विलिङ्ग जारी गर्न सक्ने बताइएको छ। त्यसैगरी कारोबारको प्रकृति अनुसार उपभोक्ता प्रत्यक्ष रुपमा बीजक जारी नगर्ने बैंकरवित्तीय संस्था लगायतका निकायको कारोबारको हकमा यो व्यवस्था लागू नहुने सूचनामा स्पष्ट पारिएको छ ।
बक्स अफिस प्रणालीमा आबद्ध भएका सम्पूर्ण सिनेमा हलका लागि पनि यो व्यवस्था अनिवार्य गरिएको छ । साथै विभागको मिति २०७५/११/२९ को सूचनामा तोकिएका अन्य करदाताले पनि अनिवार्य रुपमा विद्युतीय बीजक जारी गर्नुपर्ने प्रावधान निरन्तर रुपमा रहेको बताइएको छ ।
यसअन्तर्गत वार्षिक पाँच करोडभन्दा बढीको होटल, रेष्टुरेण्ट तथा चमेना गृह र इन्टरनेट सेवा प्रदायकको कारोबार गरेका करदाताका लागि पनि यो व्यवस्था निरन्तर राखिएको छ ।
वार्षिक १० करोडभन्दा बढीको कारोबार गरेका डिपार्टमेन्टल स्टोर, मार्ट र फ्लोरिङ्ग तथा फर्निशिङको कारोबार गरेका करदाताहरु र बक्स अफिस प्रणालीमा आवद्ध काठमाडौँ उपत्यकाभित्रको सिनेमा हलहरुका लागि यो व्यवस्था छ।
सूचनामा तोकिएका करदाता बाहेक अन्य करदाताले अनुमति लिई स्वेच्छिक रुपमा विद्युतीय बीजक जारी गर्नसक्ने पनि विभागले जनाएको छ ।