काठमाडौं। सहरी विकास मन्त्रालयले १९ वटा आयोजनाका निर्माण व्यवसायीहरुलाई काम छिटो सम्पन्न गर्न निर्देशन दिएको छ। मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण आयोजना रामेछापले शनिबार सूचना जारी गर्दै आयोजनाहरु आगामी वर्षको बजेट तथा कार्यक्रममा नपरेको भन्दै चालु आर्थिक वर्षमै पूरा गर्न निर्देशन दिएको हो।
निर्माणाधीन १९ वटा आयोजनाको हालसम्मको काम सन्तोषजनक नदेखिएको उक्त कार्यालयले जनाएको छ। त्यसैले आगामी बजेट तथा कार्यक्रममा पनि यस्ता आयोजनाहरु परेका छैनन्। निर्माण व्यवसायीलाई असार मसान्तभित्रै सम्झौता बमोजिम फरफारक गर्न विभागीय निर्देशन नै जारी गरिएको मन्त्रालयले जनाएको छ।
साथै काम सम्पन्न गरी खरिद सम्झौता अनुसार अन्तिम बिल भुक्तानीका लागि पेस गर्न पनि भवन निर्माण आयोजनाको सूचनामा भनिएको छ। तोकिएको समयवधिमा निर्माण सम्पन्न नभएमा सार्वजनिक खरिद ऐन तथा नियमावली अनुसार सम्झौता अन्त्य गरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने भवन निर्माण आयोजनाले जनाएको छ।
चालु आवभित्रै निर्माण सम्पन्न गर्नुपर्ने आयोजनाहरुमा सडक विस्तार तथा मर्मत, मन्थाली बसपार्क, नगरपालिका भवन, स्टार्टअपहरुका लागि बिजनेस स्टल निर्माण, चन्डी भञ्ज्याङ पार्क लगायतका १९ वटा आयोजना छन्। ती आयोजनाहरुको निर्माण जिम्मा पाएका १४ निर्माण व्यवसायीले पटकपटक ताकेता गर्दा पनि सन्तोषजनक काम नगरेको पाइएको भन्दै सहरी विकास तथा भवन निर्माण आयोजनाले चालु छिटो पुरा गर्न निर्देशन दिएको हो।