म्याग्दी । बेनी हुँदै हाँडेभिर–बगरफाँट–सुर्केमेला–बरङ्जा जोड्ने १० किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम शुरु गरिएको छ ।
ट्र्याक खुलेको १५ वर्षपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको रु ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट रु चार लाख ९५ हजार गरी कूल रु ५३ लाखको लागतमा स्तरोन्नतिको काम शुरु गरिएको हो ।
वि.सं २०६३ मा यो सडकको ट्र्याक खुलेको थियो ।त्यसैगरी हाँडेभिरदेखि बगरफाँटको बुद्ध एकेडेमीसम्म करिब दुई किलोमिटर क्षेत्रमा सडक कालोपत्र गर्नका लागि बाटो विस्तार र स्तरोन्नतिको काम पनि भइरहेको छ ।
सडक फराकिलो बनाउने, जमिनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ट्र्याक खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । उनका अनुसार सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६५० मी र थामडाँडामा सय मी नयाँ ट्र्याक खोलिएको छ ।