काठमाडौं। नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाको ५३ प्रतिशत काम सकिएको छ। मुख्य सुरुङ र सहायक सुरुङ (इभाकुएसन) गरी २९०१ मिटर सुरुङ खन्ने काम पूरा भएको हो।
काठमाडौंतर्फ मुख्य सुरुङ ६६० मिटर र सहायक सुरुङ ८३८ मिटर पूरा भएको आयोजनाले जनाएको छ। यस्तै, धादिङतर्फ ६२३ मिटर मुख्य र ६०६ मिटर इभाकुएसन टनेल खन्ने काम सकिएको छ। धादिङतर्फ १२६ मिटर अडिट टनेल पूरा भएको छ भने ४८ मिटर क्रस प्यासेज पनि निर्माण भएको छ।
आयोजनाका अनुसार अहिले टनेलको भित्रपट्टीका कामलाई मुख्य प्राथमिकता दिएर धमाधम अघि बढाइएको छ। साथै, मुख्य सुरुङको काम फिनिसिङ अथवा कंक्रिट लाइनिङ गर्ने कार्य भइरहेको छ। जसमा हालसम्म ३४१ मिटर मुख्य सुरुङको कंक्रिट गर्ने काम सकिएको छ। यो कुल सुरुङको १२.७० प्रतिशत भाग कंक्रिट भएको हो।
दुवैतिर गरी यस परियोजनामा करिब ६ सय जनाले काम गरिरहेका छन्। सुरुङमार्ग बाहिर पहुँच मार्ग निर्माणको काम भइरहेको छ। काठमाडौंतिर ओभर पास निर्माण सकिएको छ। यस्तै, बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको छ। मुआब्जा वितरण कार्य लगभग अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
४४ महिनामा यो आयोजना पूरा गर्ने गरी २०७६ कात्तिकबाट काम सुरु भएको थियो। जसमध्ये अहिलेसम्म ३० महिना बितिसकेको छ। काम सुरु गरेको हिसाबले आधाभन्दा धेरै परियोजना अवधि सकिएको छ। भौतिक प्रगति भने आधा हाराहारी भएको छ। मुआब्जा विवाद, स्थानीयको अवरोध, कोभिड लगायतका कारण काममा केही ढिलाइ भएको आयोजनाले जनाएको छ।