जाजरकोट। भौतिक पूर्वाधार विकास कार्यालयले जाजरकोटमा १६५ किलोमिटर सडक निर्माण गरेको छ।त्यस्तै जिल्लाका रणनीतिक सडक निर्माणलाई जारी राखेको पूर्वाधार कार्यालयले यस आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ। कचाली–गुराँसे–धरमपोखरा सडक निर्माण कार्य जारी छ। त्यस्तै पश्चिम जाजरकोटको महत्वपूर्ण सडकका रूपमा रहेको छिन्चु–जाजरकोट सडक खण्डसँग जोडिएको मोर्क–स्यापी–सिस्ने–नेपा हुँदै कचाली जोड्ने सडकको काम पनि जारी रहेको छ।
आन्तरिक सडकमध्ये लिर्ता–कार्कीगाउँ–मछाइना सडक र साइलेख साँघु–रावतगाउँ–ध्यारगाउँ सडकको निर्माण चलिरहेको पूर्वाधार कार्यालयका प्रमुखले बताएका छन्। जिल्लाको रणनीतिक सडकहरुमध्येको जुम्ला जोड्न निर्माण थालिएको पाँचकाटिया–फुल्चाउली–कयाल्दापाखा–बारेकोट–चाखुरे–जुम्ला सडकको निर्माण कार्य भइरहेको छ भने जुम्ला जोड्ने अर्को सडक जाजरकोट–कुशे–चाल्ना–व्याउली–जुम्ला सडकको समेत काम चालू अवस्थामा रहेको छ। हाल पर्यटकीय स्थल पाँचकाटिया हँुदै पिउली–नेटीलेक सडकको कच्ची कटान भइरहेको छ ।
प्रदेशले जिम्मा लिएका सडकमा काम भइरहेको प्रदेशसभा सदस्यले जनाएका छन्। जिल्लाका पर्यटकीय तथा धार्मिक स्थल हुँदै सबै गाउँमा बिनाअवरोध सडक लिने हाम्रो योजना प्रदेशसभाको रहेको छ। त्यस्तैगरी स्थानीय तहले पनि सडक निर्माणलाई महत्व दिँदै आएका छन्। यद्यपि सबै पालिकामा निर्माण भएका सडकको यकिन तथ्यांक नलगाड नगरपालिकाबाहेक अन्य स्थानीय तहले दिन सकेका छैनन्। नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ मा सडक सफा तथा मर्मत ६७ किलोमिटर र सडकको नयाँ ट्रयाक खुला २६ किलोमिटर रहेको सब–इञ्जिनियरले बताएका छन्।