काठमाडौं। काठमाडौं महानगरपालिकाले बहुतले पार्किङ निर्माण गर्नेलाई सहुलियत दिने भएको छ। आइतबार महानगरको ११औं अधिवेशनमा आगामी आर्थिक वर्ष २०७९र८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाहले बहुतले पार्किङ निर्माण गर्न इच्छुक निजी कम्पनीलाई महानगरले सहुलियत दिने बताएका हुन्।
महानगरपालिकाभित्र प्रमुख समस्यामा रहेको पार्किङलाई व्यवस्थित गर्न यस्ता बहुतले पार्किङ निर्माणका लागि यस अघि नै नगर विकास कोषले पनि प्रक्रिया अगाडि बढाइरहेको छ। त्यसलाई नै थप व्यवस्थित गर्ने गरी बहुतले पार्किङ बनाउने निजी क्षेत्रलाई प्रोत्साहन गर्न लागिएको हो।
त्यसैगरी महानगरले सार्वजनिक सवारीमा जीपीएस जडान गर्ने भएको छ। साथै, खुल्ला मञ्चसँगैको जग्गामा बोरिङसहितको भुमिगत पार्किङ निर्माण गर्न सम्भाव्यता अध्ययनलाई अगाडि बढाउने महानगरको नीति तथा कार्यक्रममा आएको छ।
सार्वजनिक यातायातलाई व्यवस्थित गर्न कम्पनी स्थापना गरी काठमाडौं उपत्यकाभित्र संचालन सबै सवारी साधनलाई एउटै छाता संघठनभित्र समावेश गर्ने महत्त्वाकांक्षी योजना पनि मेयर शाहले नीति तथा कार्यक्रममा राखेका छन्। यी योजनाहरु उनले मेयरमा उम्मेदवारी दिँदादेखि नै उल्लेख गर्दै आएका हुन्।