धनगढी । पहिरोका कारण सुदूरपश्चिमका अधिकांश सडक अवरुद्ध भएका छन्।आइतबार साँझदेखिको वर्षाका कारण सुदूरपश्चिमका विभिन्न सडकमा पहिरो खसेर यातायात अवरुद्ध भएको हो ।
सोमबार दिउँसो पहिरो पन्छाएर यातायात सञ्चालन गरिएको धनगढी–डडेलधुरा सडक आज रातिदेखि फेरि अवरुद्ध भएको छ ।
धनगढी–डडेलधुरा सडकको भासु तथा सहजपुर र फल्टुडेको बीचमा पहिरो खसेको छ । सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने यो प्रमुख सडक अवरुद्ध हुँदा पूरै प्रदेशको पहाडी भेगमा यातायात सेवा ठप्प हुन पुगेको छ ।
बैतडीको खोड्पेदेखि बझाङ जोड्ने जयपृथ्वी राजमार्ग, बैतडीको सतवाजदेखि दार्चुला जोड्ने महाकाली राजमार्गमा पनि पहिरो खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । डडेलधुराको भित्री मधेस क्षेत्रमा पर्ने बुडर–जोगबुडा सडक खण्ड पनि ठाउँठाउँमा पहिरोले अवरुद्ध रहेको छ। डोटी–अछाम जोडने सडकअन्तर्गत चौखुट्टे र साँफेबगरको बीचमा पहिरो खस्दा अछाम तथा बाजुरासम्मको यातायात ठप्प छ ।