काठमाडौं। ताप्लेजुङको मैवाखोला गाउँपालिकामा निर्माणधीन २२० केभी कोसी करिडोरले दोभान–तिरतिरे–तेल्लाबुुङ खण्डको सडक स्तरोन्नति गरिदिने भएको छ। करिडोरको सबस्टेशनले प्रभाव पार्ने उक्त सडकखण्डको स्तरोन्नति गरिदिने भएको हो।
मैवाखोला गाउँपालिका–१ ढुङ्गेसाँघुमा हाल नेपाल विद्युत् प्राधिकरणले कोसी करिडोर आयोजनाको २२० केभी प्रसारण लाइनको सबस्टेशन निर्माण हुँदै आएको छ। सबस्टेशन आयोजना प्रभावित क्षेत्र दोभान–तिरतिरे–तेल्लाबुङ हुँदै वनपाला क्षेत्रसम्मको सडकखण्ड स्तरोन्नति करिडोरले गर्ने भएको हो। सबस्टेशन निर्माणका सामग्री ढुवानी गर्दा प्रयोग हुने उक्त सडकखण्डा स्तरोन्नति गर्ने सहमति भएको मैवाखोला गाउँपालिकाले जनाएको छ।
आयोजनाको बजेटको परिधिका आधारमा सडक स्तरोन्नतिको काम कार्यान्वयन गर्ने निर्णयसमेत भएको जिल्ला क्षतिपूर्ति निर्धारण समितिले बताएको छ। आयोजनाले सडक स्तरोन्नतिको कार्य गर्ने भएपछि सो सहमति कार्यान्वयन गराउनमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने भएको छ। हिउँदभर सञ्चालनमा आई हाल बन्द भएको मदन भण्डारी मार्गलाई वर्षा मौसममा पनि नियमित सञ्चालन गर्ने गरी गाउँपालिकाले पहल सुरु गरेको छ।
यस्तै आयोजनाको कार्य अर्थात् विद्युत् प्रसारण लाइन विस्तार गर्दा मैवाखोला–१ र २ ढुङ्गेसाँघु तथा वडा नं ३ साँघुसम्म नै असर पुर्याउने देखिएको छ। विद्युत् टावर निर्माण गर्दा दायाँ–बायाँ १५–१५ मिटरभित्रको क्षेत्रमा असर पुग्ने भएकाले उक्त क्षेत्रमा पर्ने निजी जग्गाको साथै संरचना हटाउँदा आयोजनासँग क्षतिपूर्तिको मूल्याङ्कन विषयमा समन्वय भइरहेका आयोजनाले जनाएको छ।