मुस्ताङ । पहिरो खसेर बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीमाक्षेत्रबाट सवारीसाधान आउजाउ गर्न सकेका छैनन् ।
रुप्से झरना, काभ्रेभीर र डुम्रीभीरमा बढी समस्या भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । उनका अनुसार मंगलबार विहान एक पटक सबै साना गाडी पास गराए पनि ठूला गाडी पास हुने अवस्था छैन ।
बाटो बिग्रिएपछि म्याग्दीको बेनीबाटै गाडी प्रवेशमा रोक लगाइएको छ । कडाउन र बाढी पहिरोपछि दुई साताअघि मात्रै बेनी–जोमसोम सडक खुलेको थियो । दानादेखि घाँसासम्मको करिब पाँच किलोमिटर दुरी सबैभन्दा जोखिमपूर्ण छ ।
बाटो अवरुद्ध भएपछि मुस्ताङ घुम्न गएका पर्यटकहरू समस्यामा परेका छन् । ठेकेदारले समयमा काम नगर्दा पहिरोसँगै सडक पनि हिलाम्मे भएको छ । सबैतिर खाल्डैखाल्डा छ । बेनीदेखि जोमसोमसम्मको सडक स्तारेन्नती गर्न साढे दुई अर्बभन्दा बढीमा ठेक्का लागेको छ । चार खण्डमा ठेक्का दिएकोमा कोरलादेखि जोमसोमसम्म काम भैरहेको छ । समरको भीरदेखि स्याङबोचेसम्म काममा ढिलाई भएको छ ।
यो सडक १० मिटर फराकिलो गर्ने योजना छ । त्यसमा ७ मिटर पीचको हुने छ । सडक हिलो भएपछि डोजरले गाडी तानेर पास गराईरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले बताए । अहिले डोजरले गाडी तानिरहेको छ ।