काठमाडौँ। हाल नेपाल विद्युत प्राधिकरणले भारतको बिहार राज्यलाई २८० मेगावाटसम्म बिजुली पठाउन थालेको छ।नेपाल विद्युत प्राधिकरणले विद्युत साटासाट इनर्जी एक्सचेन्जको अवधारणामा सो विद्युत बिहारलाई दिएको हो।
प्राधिकरणका प्रवक्ताका अनुसार हिउँदको समयमा फिर्ता दिनेगरी बिहारले विद्युत लिइरहेको छ। हाल बिहारबाट दैनिक अधिकतम २ सय ८० मेगावाटसम्म विद्युत माग भइरहेको र प्राधिकरणले मागेजति विद्युत दिइरहेको छ। बिहारले दैनिक माग र आपूर्तिको अवस्था हेरेर विद्युत सापटी माग्ने गरेको छ। तर पछिल्लो दुई दिनमा भने बिहारले विद्युत मागेको छैन।
त्यस्तै वर्षायाममा नेपालले पठाएको विद्युत र हिउँदमा बिहारले पठाएको विद्युत् परिमाणमा फरक देखिएमा त्यसको अतिरिक्त मूल्य तिर्ने गरी दुई पक्षबीच सम्झौता पनि भएको छ। भारतले नेपाललाई विद्युत बेचेपनि नेपालले भने अहिलेसम्म भारतलाई विद्युत बेच्न सकेको छैन। पछिल्लो समय भारतमा कोइला अभावमा थर्मल प्लान्टहरु बन्द हुँदा विद्युत कटौती बढ्दै गएको छ। नेपाल र भारबीच विद्युत व्यापारका लागि संरचना तयार भएको भएता पनि कानूनी अड्चनहरु सुल्झन नसकेककारण विद्युत व्यापार अघि बढ्न सकेको छैन्। हाल दुई देशबीच ३३ र १३२ केभी प्रसारणलाइनबाट ३ सय ७० मेगावाटसम्म विद्युत प्रवाह गर्नका लागि संरचना उपलब्ध रहेको छ।
अहिले नेपालभित्रको पिक डिमाण्ड १ हजार ३ सय २० मेगावाट बराबर रहेको छ। त्यसैले ४ सय ५६ मेगावाट उत्पादन क्षमताको माथिल्लो तामाकोशी सञ्चालनमा आएपछि वर्षायाममा नेपालको विद्युत् खेर जाने अवस्था सिर्जना भएको छ।