म्याग्दी। आइतवार साँझदेखि निरन्तर परेको अविरल वर्षाको कारण ग्रामीण सडकहरु अवरुद्ध भएका छन्। त्यसैले गर्दा दशैं मनाउन आ–आफ्नो गाउँमा आएकाहरु कार्यक्षत्रमा फर्किन पाएका छैनन्।
लगातारको वर्षाले सडकमा सवारी साधन चल्न नसक्ने अवस्था आएपछि दशैं मनाएर कार्यक्षत्रमा फर्किने कर्मचारीहरु समस्यामा परेका छन्। कालोपत्रे सडकको सुविधा भएको ठाउँमा वर्षाकै बीचमा पनि सवारी फाट्टफुट्ट चले पनि ग्रामीण क्षेत्रमा आउजाउ गर्ने गाडी सञ्चालनमा समस्या हुँदा गन्तव्यमा फर्किनेलाई सास्ती भएको पीडितहरुले जानकारी गराएका छन् ।
आइतवारदेखिको लगातार वर्षाका कारण बागलुङदेखि पोखरासम्मको सडक पनि जोखिमयुक्त रहेको कुरा जनता क्याम्पस दाङका क्याम्पस प्रमुखले जानकारी दिएका छन्। त्यस्तै वर्षाको कारण बाटो अवरुद्ध हुँदा आफु पनि आफ्नो कार्यक्षेत्र फर्किन नसकेको जानकारी गराएका छन्। दशैं विदामा मुस्ताङ र म्याग्दीको घोडेपानी, पुनहिल लगाएतका पर्यटकीय क्षेत्रमा घुमघामका लागि आएका व्यक्तिहरु सडककै कारण आफ्नो घरमा फर्किन सकेका छैनन्।
त्यस्तै वर्षाका कारण पहिरो र सडकमा बगेको लेदोले गर्दा बेनी–जोमसोम सडक खण्डको काभ्रेभीर,रुप्से छहरा लगाएतका स्थानमा सडक अवरुद्ध हुँदा यात्रीहरु अलपत्र परेका छन्। गाडीमा घोडेपानी नजिक पुगेकाहरु फर्किने समयमा पानी परेर गाडी नचलेपछि पैदल नै बेनी आउन वाँध्य भएका स्थानीय पर्यटन व्यवसायीहरुले जानकारी गराएका छन्।
म्याग्दीका प्रायःसबै ग्रामीण क्षेत्रमा कच्ची सडक भएको कारण अलिकति वर्षा हुनासाथ पनि सडक चिप्लिने, पहिरो झर्ने, भेलको कटानले बाटोको स्वरूपै नरहने लगायतका कारणले गर्दा सर्वसाधारण र यात्रुहरुले सास्ती खेप्दै आएका छन्।