काठमाडौं। करिब २२ अर्ब लगानीमा नागढुंगा–नौविसे सुरुङमार्ग आयोजनाले बलम्बुमा फ्लाई ओभर निर्माण प्रक्रिया अघि बढाउने भएको छ। आयोजनाले फ्लाइ ओभर निर्माणका लागि अधिग्रहण गर्नुपर्ने जग्गा यकिन गरेर मूल्य निर्धारण गर्न सिफारिस गरेको छ।
एक साताभित्रै जिल्लाको दररेट निर्धारण हुने जानकारी पाएको नागढुंगा–नौविसे सुरुङमार्ग निर्माण आयोजना प्रमुखले बताएका छन्। उनका अनुसार फ्लाई ओभर निर्माणको लागि करिव १२ रोपनी जग्गा र पक्की तथा टहरा गरी ५७ वटा संरचना अधिग्रहण गर्नुपर्नेछ। सो फ्लाई ओभर पृथ्वी राजमार्गको सेन्ट्रल दुई लेनबाट उठाएर निर्माण हुनेछ। चार लेनको ररहेको सो राजमार्गको दुई लेन फ्लाई ओभरका लागि प्रयोग हुने भएपछि आयोजनाले जग्गा अधिग्रहण गरेर दुई लेन सडक बनाइदिन लागेको हो। सोही कारण धेरै जग्गा अधिग्रहण गर्नुपरेको हो आयोजनाले जनाएको छ।
मुआब्जाका लागि मात्रै १ अर्ब १० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। हालसम्म मुआब्जा वितरणका लागि डेढ करोड रुपैयाँ विनियोजन भइसकेको छ। मुआब्जाको दररेट निर्धारण भए एक महिनामै वितरण सक्ने दाबी रहेको छ। पृथ्वी राजमार्गबाट सुरुङमार्गको पोर्टलतिर जान फ्लाई ओभर निर्माण गर्न लागिएको हो।उक्त दुई लेनको फ्लाईओभर १२८ मिटरको लामो हुनेछ।
१२८ मिटर फ्लाई ओभरबाट करिव तीन किमी पहुच एक्सेस सडक मार्फत काठमाडौंतिरको पोर्टलमा पुग्न सकिन्छ। हाल पहुँचमार्ग निर्माण भैरहेको छ र ८ महिना भित्रमा फ्लाई ओभर निर्माण सक्ने लक्ष्य रहेको छ। लक्ष्य अनुसार निर्माण गर्न सकिए नेपालकै पहिलो फ्लाई ओभर हुने दाबी रहेको छ। दर्जन बढी फ्लाई ओभर निर्माण गर्ने भनिएको भएपनि हालसम्म नेपालमा फ्लाई ओभर निर्माण भएको छैन।
बलम्बुमा निर्माण हुने फ्लाइओभर आयोजनाको मुख्य निर्माण कम्पनी हाज्मारआन्दो कर्पोरेशन लिमिटेडले निर्माण गर्ने भएको छ। त्यस्तै नागढुंगा – नौविसे सुरुङमार्ग आयोजना जापान सरकारको सहुलियत ऋण सहयोगमा निर्माण भइरहेको छ। सो फ्लाई ओभर जापान सरकारको करिव १६ अर्ब रुपैयाँ र नेपाल सरकारको आन्तरिक स्रोतबाट करिव ६ अर्ब रुपैयाँ खर्चेर निर्माण गर्न लागिएको छ। काठमाडौं र धादिङ दुवैतिरको पोर्टलबाट काम चलिरहेको हुनाले अहिलेसम्म यसको २२ प्रतिशत काम सकिएको छ।