धनकुटा । बाढीले भत्किएको कोसी राजमार्गको धरान–धनकुटा सडकखण्ड अझै सञ्चालनमा आएको छैन । साँगुरीगढी गाउँपालिका–६ घण्टेमा मंगलबार अपरान्ह ४ बजे लेउती खोलाले बगाएको करिब २ सय मिटर सडक अझै सञ्चालनमा आउन नसकेको हो ।
डोजरबाट खोलाको पानी तर्काएपछि एकतर्फी यातायात खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी नकुल पोख्रेलले जानकारी दिए । सडक भत्किएपछि प्रहरीले धनकुटा र भेडेटारमा सवारी साधन रोकेको थियो ।
बाढीले कम्तीमा दुई करोडभन्दा बढीको क्षति पुगेको सडक डिभिजन धनकुटाका प्रमुख दानकुमार शाक्यले जानकारी दिए । मौसममा सुधार आउनासाथ तत्काल सडक मर्मत कार्य थालिने उनले बताए । सडक भत्किएपछि धरान धनकुटा हुँदै पहाडी जिल्लाको आवागमन ठप्प भएको छ ।