नवलपरासी । पश्चिम नवलपरासीमा रहेको पाल्पा सिमेण्ट उद्योगले भारतमा सिमेन्ट निकासी सुरु गरेको छ । पाल्पा सिमेन्ट उद्योगले शुक्रबारबाट सुनौली नाका हुँदै भारततर्फ सिमेन्ट निकासी गरेको हो ।
पाल्पा सिमेन्ट इण्डस्ट्रिज लिमिटेडको नामकाे उद्योगले ‘तानसेन’ब्राण्डको सिमेन्ट उत्पादन गर्दै आएको छ । शुक्रवार आयोजित कार्यक्रममा सुनवल नगरपालिकाकी प्रमुख विमला अर्यालद्वारा उद्घाटन गराई पाल्पा सिमेन्टले भारततर्फ निकासी शुरू गरेको छ ।
उद्घाटन गर्दै प्रमुख अतिथि विमला अर्यालले सुनवलवासीको लागि गर्वको कुरा भएको बताइन्। नगरपालिका भित्रको उद्योगले भारतमा सिमेन्ट निर्यात गर्नु भनेको यस नगरपालिका बासीको लागि अवसर समेत रहेकाे उनकाे भनाइ छ ।
यस्तै, प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले अब नेपालले भारततर्फ सिमेन्ट निर्यात गर्नु भनेकाे हामी सिमेन्टमा आत्मनिर्भर भएको बताए।
नेपाल सरकारले बजेटमार्फत सिमेन्ट निर्यातमा ८ प्रतिशत अनुदान दिएपछि भारतर्फ सिमेन्ट निकासी गर्न उद्योगीहरु उत्साहित भएका हुन् । उद्योगले पहिलो दिन ३ हजार बोरा सिमेन्ट भारत पठाएको छ । भारतमा सिमेन्ट निकासी गरेपछि आर्थिक गतिविधि कृयाशिल भई अन्य क्षेत्रलाई सहयोग सहितको सकारात्मक सन्देश जाने उद्योगका जन सम्पर्क प्रवन्धक जिवन निरौलाले बताए।
पाल्पा सिमेन्ट उद्योग क्षमताको क्षमता दैनिक १८ सय टन क्लिङ्कर उत्पादन गर्ने रहेको छ भने उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको उद्योगका जनसम्पर्क प्रबन्धक जीवन निरौलाले बताए। पाल्पा सिमेन्ट उद्योग सुनवल नगरपालिका ७ स्थित सिसनीमा रहेको छ ।