मुस्ताङ । मुस्ताङको घरपझोङ–२ मार्फामा अस्थायी पुल खोलाले बगाउँदा यहाँ घुम्न आएका पर्यटक अलपत्र परेका छन्। अविरल वर्षाका कारण आएको बाढीले अस्थायी पुल बगाउँदा मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा स्थानीय समस्यामा परेका छन् ।
मुस्ताङको मार्फा खोलामा सवारी साधन वारपार गर्न मिल्ने गरी पुल निर्माण गरिएको थियो । पुल खोलाको बाढीले बगाएपछि दशैं पर्वको बिदामा मुस्ताङ घुम्न आएका पर्यटकलाई गन्तव्य पुग्न अप्ठ्यारो परेको थियो।
पहिलो दिनको बाढीले पुल बगाउँदा पुन अस्थायी पुल निर्माण गरी यातायात सेवा सूचारु गराउन संघीय सांसद प्रेमप्रसाद तुलाचनले पहल गरेका थिए ।पहिलो दिन पुन सञ्चालनमा ल्याइएको अस्थायी पुल पुनः दोस्रो दिनको बाढीले बगाएको हो ।
निर्माण कन्ट्रक्सनले २०७५ साल भदौ ६ गते घरपझोङको मार्फा खोला र वारागुङ मुक्तिक्षेत्रको नरसिंह खोलामा पक्की मोटरेबल पुल बनाउने जिम्मा लिएको थियो । दुबै पुलको सम्झौता अवधि २०७८ साल भदौ २० सम्म रहेपनि निर्माण कम्पनीको ढिलासुस्तीले पुल निर्माणको कामले गति लिन सकेको छैन ।