काठमाडाैं। प्रतिस्थापन विधेयक ल्याएर हरेक महिना १० प्रतिशत बजेट खर्च गर्न निर्देशन दिने निवर्तमान अर्थमन्त्रीलाई अहिले उनैको भनाइले गिज्याइरहेको छ । अर्थमन्त्रीको निर्देशन र प्रतिबद्धता विपरित ११ महिनासम्म ३६ प्रतिशत मात्रै बजेट खर्च भयो । तर आर्थिक वर्षको अन्तिम महिना भने करिब १८ प्रतिशत खर्च भएको छ । समग्रमा पुँजीगत बजेट ५४ प्रतिशत मात्र खर्च भएको छ ।
सरकारले आर्थिक वर्षको अन्तिम महिना अर्थात् असारमा मात्रै २ खर्ब २८ अर्ब ८८ करोड रुपैयाँ खर्च गरेको छ । जसमा पुँजीगततर्फ ६७ अर्ब ५४ करोड र चालुतर्फ १ खर्ब ४२ अर्ब ५८ करोड खर्च भएको हो । बिहीबार एकैदिन सरकारले १९ अर्ब ८७ करोड खर्च गरेको छ । आर्थिक वर्षको अन्तिम महिना पुँजीतर्फ १७ दशमलव ८७ प्रतिशत अर्थात ६७ अर्ब ५४ करोड रुपैयाँ खर्च भएको छ ।
चालु आर्थिक वर्षका लागि सरकारले १६ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो । जसमा चालुतर्फ १० खर्ब ६५ अर्ब विनियोजन गरिएकोमा ९ खर्ब ६१ अर्ब खर्च भएको छ । त्यस्तै पुाजीगततर्फ ३ खर्ब ७८ अर्ब विनियोजन गरिएकोमा २ खर्ब ६ अर्ब मात्रै खर्च भएको छ । अझ राष्ट्रिय गौरवका आयोजना र विकासे मन्त्रालयको अवस्था त झन् नाजुक छ । भौतिक पूर्वाधार, शहरी विकास, खानेपानी, उर्जा जलस्रोत तथा सिाचाई जस्ता मन्त्रालयको पुँजीगत बजेट खर्च हेर्दा उदेकलाग्दो छ ।
समग्र राष्ट्रिय गौरवका आयोजनाको बजेट खर्च ६१ प्रतिशत मात्रै छ । त्यस्तै भौतिक पूर्वाधार मन्त्रालयले ५५, शहरी विकासले ६५ र खानेपानी मन्त्रालयले ५५ प्रतिशत मात्रै खर्च गर्न सकेका छन् । लक्ष्यअनुसार बजेट खर्च हुन नसक्दा विकासका आयोजना प्रभावित हुादै आएका मात्र छैनन्, सरकारको क्षमतामा पनि प्रश्न उठेको छ। कान्तिपुर समाचारबाट