काठमाडौं। शंकर र अम्बे समूहको संयुक्त कम्पनी रिद्धिसिद्धि सिमेन्टले एक वर्षमा ६ अर्ब ३७ करोडको व्यापार गरेको छ। कम्पनीले सन् २०२१ मा ६ अर्ब ३७ करोड रुपैयाँको व्यापार गरेको हो।
२०२१ मा कम्पनीको अपरेटिङ मार्जिन २६ प्रतिशत रहेको छ। यसअघि महंगोमा चुनढुङ्गा किनेर उद्योग संचालन गरिरहेको कम्पनीले आफ्नै खानीबाट चुनढुङ्गा उत्खनन थालेपछि अपरेटिङ मार्जिनमा सुधार आएको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिङ रेटिङ नेपालले जनाएको छ।
२०२१ मा कम्पनीले पूरा वर्ष दुईवटा युनिटबाट सिमेन्ट उत्पादन गरेको छ। कोरोना महामारी र सिमेन्ट बजारमा चर्को प्रतिस्पर्धाका बाबजुद कम्पनीको व्यापारमा उछाल छाएको छ। क्लिंकरका साथै सिमेन्टको बिक्री र ब्राण्ड भ्यालुका कारण व्यापार बढेको बताइएको छ। २०२० मा कम्पनीले एक अर्ब ७९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो।
२०१९ को अन्त्यबाट उद्योगले व्यापारिक उत्पादन थालेको थियो। कम्पनीसँग दुईवटा खानी संचालन गरिरहेको छ। कम्पनीसँग कुल नौवटा खानी छन्। जसमध्ये दुईवटा चुनढुङ्गा उत्खननका लागि प्रयोग भइरहेको कम्पनीले जनाएको छ। २०२३ बाट बाँकी खानीहरुबाट उत्खनन थाल्ने कम्पनीको तयारी छ।
रिद्धिसिद्धिले सिमेन्ट र क्लिंकर उत्पादन तथा बिक्री गर्दै आएको छ। उद्योगसँग दैनिक २७६० टन क्लिंकर र ग्राइन्डिङ युनिटको क्षमता छ। ओपीसी र पीपीसी कम्पनीले रिद्धिसिद्धि र मकवापुर सिमेन्ट ब्राण्डमा बिक्री गरिरहेको छ।
हेटौंडको रातोमाटेमा प्लान्ट रहेको कम्पनीले आफूले उत्पादन गर्ने ५० प्रतिशतभन्दा बढी क्लिंकर अरु ग्राइन्डिङ युनिटहरुलाई बिक्री गरिरहेको छ। बाँकी भने कम्पनीले आफ्नै सिमेन्ट उत्पादनमा उपयोग गरिरहेको छ। भारतीय सिमाबाट ५५ किलोमिटरमा उद्योग रहेकाले कच्चा पदार्थ ढुवानी सस्तो पर्ने बताइएको छ।