काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले देखिएको विकृति र विसंगतिलाई रोक्न अर्को निर्वाचनपछि एमालेको बहुमतको सरकार चाहिने बताएका छन् ।
बागमती प्रदेशस्तरीय प्रशिक्षण भेलामा बुधबार ओलीले आफूले साढे तीन वर्ष सरकार चलाउँदा निकै राम्रोसँग चलाएको तर एक वर्षअघिदेखि बनेको सरकारले केही काम गर्न नसकेको आरोप लगाए।
‘हामीले सरकार चलाउँदा कोभिड थियो । दुई वर्ष त्यसकै रोकथाम र नियन्त्रणका लागि लाग्नुपर्यो । तर अहिले कोभिड छैन । यो सरकार निकम्मा भयो । त्यसैले अर्को निर्वाचनपछि एमालेको बहुमत सरकार चाहिन्छ,’ ओलीले बताए ।
उनले स्थानीय तहको निर्वाचन एमालेका लागि राम्रो नभएको बताउँदै अबको निर्वाचनमा त्यस्तो हुँदैन भनेर प्रतिबद्धता जनाउँन नेता कार्यकर्तालाई कसम खुवाए ।
उनले सबैतिरबाट आक्रमण हुँदा पनि एमाले दोस्रो ठूलो दल बनेको उल्लेख गर्दै केही दलले भने एमालेको बिरुवा सक्यौं भन्दै हिँडेकोमा आपत्ति जनाए। अर्काको बुई चढेर १०–१५ सिट ल्याउने पार्टीले एमाले सकियो भन्दै हिँडेकाले त्यस्तो भ्रममा नपर्न उनले आग्रह गरे।