काठमाण्डौं। फुकोट–कर्णाली जलविद्युत् आयोजनाले स्थानीयवासीलाई १० प्रतिशत सेयर दिने भएको छ। चार सय ८० मेगावाट क्षमताको उक्त आयोजनाले सेयर दिने निर्णय गरेको हो।
प्रभावित क्षेत्र वा जिल्लाभरका बासिन्दालाई दिने भन्ने निर्णय चाँडै गरिने आयोजनाले जनाएको छ।
स्थानीयलाई सेयर दिने निर्णय गरिएको छ, प्रभावित क्षेत्रकालाई मात्र दिने कि जिल्लाभरकालाई दिने भन्ने निर्णय भएको छैन। आगामी वर्षदेखि निर्माण थालिने सो आयोजनाका सरकारले लगानी जुटाउने प्रयास गरिरहेको बताइएको छ। आयोजनास्थल कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकामा पर्छ। आयोजनाका संरचना सो गाउँपालिकाको वडा नं १, २ र ३ मा बन्नेछन्।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको आयोजनाले बताएको छ। आयोजनाको अनुमानित लागत ९२ अर्ब ३० करोड रहेको छ। आयोजना निर्माण गर्दा एक हजार १४९ परिवार प्रभावित हुने बताइएको छ। आयोजनास्थलमा पूरै जग्गा परेका जग्गाधनीले ७५ र आंशिक परेकाले ६६ प्रतिशत मुआब्जा पाएको जनाइएको छ। हालसम्म ५० करोडभन्दा बढी रकम मुआब्जावापत वितरण गरिएको छ।
यो पनिः
एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको सुरुङ खन्ने काम सकियो