तनहुँ। हाल तनहुँमा निर्माणाधीन अवस्थामा रहेको १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माण कार्यले गति लिएको छ। सो आयोजनाको प्याकेज–३ अन्तर्गतको प्रसारण लाइन निर्माणका लागि हालसम्म सात टावर निर्माण सम्पन्न भइसकेको छ।
कूल ९४ मध्ये २७ फाउण्डेशनको काम सकिएको छ भने छवटा फाउण्डेशनको काम निरन्तर भइरहेको छ। यस्तै २० टावर निर्माणका लागि आवश्यक पर्ने सामग्री फिल्डमा आउने क्रममा रहेको आयोजना प्रमुखले जानकारी दिएका छन्। सो प्रसारण लाइन निर्माणको काम भने भारतीय कम्पनी केइसीले जिम्मा पाएको छ।
प्रसारण लाइन निर्माणका लागि व्यास नगरपालिका–१३ र १४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–६, देवघाट गाउँपालिका–४ र ५ भित्र पर्ने कूल ५९ कित्ता २३ रोपनी पाँच आना जग्गा अधिग्रहण गरिनेछ। हाल जग्गाको मुआब्जा पनि वितरण भइरहेको छ। सो जग्गा अधिग्रहण गर्न रु एक करोड ३१ लाख ३४ हजार ५१० मुआब्जा निर्धारण गरिएको छ।
उक्त प्रसारण लाइन निर्माणका लागि रुख काट्नुपर्ने सङ्ख्या घटेकाले आइई पुनरावलोकन गरी स्वीकृतिका लागि विद्युत् विकास विभाग पठाइएको छ। हाल आयोजनाले तीनवटै प्याकेजका कामलाई तीव्र रुपमा अगाडी बढाएका छ।