काठमाडौं। संसदको विकास तथा प्रविधि समितिले नारायणगढ–बुटवल सडकको पूर्व–पश्चिम खण्डको ठेक्का रद्द गर्न निर्देशन दिएको छ। समितिले निर्माण कार्य सन्तोषजनक नभएको भन्दै सडक आयोजनाको लागत नबढ्ने गरी तत्काल ठेक्का रद्द गर्न निर्देशन दिएको हो।
बुधवार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणगढ–बुटवल सडक पूर्वपश्चिम खण्डको कार्यप्रगतिका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसहित आयोजना प्रमुखहरूसँग छलफल गरेको थियो।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राईले पनि नारायणघाट–बुटवल सडक आयोजनाको ठेक्का रद्ध गर्ने चेतावनी दिएका थिए। मन्त्री राईले नारायणघाट–बुटवल सडक आयोजनाको काम निराशाजनक रहेको पटक पटक दोहोर्याएका थिए। उनले आयोजनाको ठेक्का रद्ध गर्दा लागत बढ्ने लगायतका जटिलता भोग्नुपरे पनि उपलब्धीमुलक निर्माण हुन नसके ठेक्का तोड्ने बताएका हुन्।
छलफलपछि समिति सभापति कल्याणी खड्काले ठेक्का रद्द गर्न सरकारलाई निर्देशन दिएको जानकारी दिइन्। सभापति खड्काले आयोजनाको निर्माण अवधि सकिनै लाग्दा समेत अहिलेसम्म पनि सम्पन्न भौतिक प्रगति १८.४४ प्रतिशत रहेको विषयप्रति समितिको ध्यानाकर्षण भएको बताइन्। उनले सरकारले ठेक्का रद्द गर्ने विषयमा समीक्षा गरी तत्काल निर्णय लिन निर्देशन दिएको बताइन्। लोकान्तरबाट
यो पनिः
ललितपुरको एकान्तकुनाबाट नख्खु-भैंसेपाटी जाने सडक आजदेखि एकतर्फी