महेन्द्रनगर। कञ्चनपुरमा ११ वटा पुल निर्माण गरिएको छ। आर्थिक वर्ष २०७८/७९ मा ११ वटा पुल निर्माण सम्पन्न गरिएको हो।
उक्त ११ वटा पुल करिब एक अर्बको लागतमा पुल निर्माण भएको हो। सडक डिभिजन कार्यालय महेन्द्रनगरले १० र पुल सेक्टर मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्र नम्बर ३, नेपालगञ्ज (हाल पुल सेक्टर, दाङ) कार्यालयले एक पुल गरेर ११ पुल निर्माण गरिएको हो। यससँगै सडक डिभिजन कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०७९/८० मा पाँचवटा पुल निर्माण गर्ने लक्ष्य रहेको बताइएको छ।
कञ्चनपुरमा महत्त्वपूर्ण पुलहरू निर्माण भइसकेका छन्। सडक कार्यालयले १० करोडको लागतमा बलमा खोला पुल, २० करोडमा जोगबुढा नदी पुल, १४ करोडमा सुनबरा नदी पुल, छ करोडमा भट्टी खोला पुल, छ करोडमा खर्साह खोला पुल, छ करोडमा घरकटुवा नदी पुल, पाँच करोडमा मलेरिया नाला पुल, सात करोडमा सुतिया नदी पुल, ११ करोडमा चौधर नदी पुल र छ करोडमा गन्दानाला पुल निर्माण गरेको हो।
आर्थिक वर्ष २०७९/८० मा निर्माण हुने पुलको पनि ठेक्का सम्झौता भएर काम सुरु भइसकेको जनाइएको छ। यस आर्थिक वर्षमा निर्माण हुने पुलहरूमा काठा नदी पुल, मोहना नदी पुल, भुजेला खोला पुल, कामीकाटे खोला पुल र मलेरिया खोला पुल रहेका छन्। यस्तै पुल सेक्टर मध्यपश्चिम तथा सुदूरपश्चिम क्षेत्र नम्बर ३ ले दोदा नदी पुल निर्माण गरेको हो।
३९ करोड ५८ लाख लागतमा ३०१ मिटर लामो पुल निर्माण गरिएको योजनाले जनाएको छ। दोदा नदीले लालझाडी गाउँपलिकालाई चारैतिरबाट घेरेको छ। पुल सेक्टर कार्यालयले पश्चिमतिरबाटको पुल निर्माण गरेको हो। यसअघि सडक डिभिजन कार्यालयले २०६६ सालमा ठेक्का गरेको वाणीबाट जाने बाटोमा पूर्वतिरको पुल अझै हुन सकेको छैन। राजेन्द्र निर्माण सेवाले २५ करोडमा ठेक्का सदर गरेर काम सुरु गरे पनि १२ करोड पेस्की लिएर ठेकेदार कम्पनीले काम गरेको छैन।
यो पनिः
सम्झौता भएको समय भन्दा पाँच महिना अगावै मोटरेबल पुल निर्माण सम्पन्न