लमजुङ। अफ सिजन एवं बर्खाको समयमा पनि चक्रीय अन्नपूर्ण पदमार्गमा पर्यटकको आगमन भएको छ। अफ सिजन मानिने समयमा पनि पदमार्गमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन भइरहेको हो।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालय मनाङका अनुसार हाल पदमार्ग आएका पर्यटकमा स्वदेशी भन्दा विदेशी पर्यटक बढी देखिएको छ। पदयात्रामा आएका अधिकांश अन्नपूर्ण पदमार्गको थोराङ्ला पास गरी मुक्तीनाथ जोमसोम सम्म पुग्ने गर्छन्। केही मात्र तिलिचो क्षेत्र पुग्ने गरेको एक्यापले जनाएको छ।
हाल दैनिक ३/४ जनादेखि १०/१२ जनासम्म पर्यटक भित्रिएका जनाएको छ। असारदेखि भदौ १५ सम्मको समय अफ सिजन मानिने भएपनि यो सयममा समेत पदमार्गमा पर्यटक आएका छन्। सन् २०२२ को जुलाईको हालसम्म १८४ जना पर्यटक भित्रिएका छन्। गतबर्ष २०२१ को जुलाई महिनामा एक जना मात्र पर्यटक आएका थिए । गतबर्ष बाढीपहिरोका कारण बाटो अवरुद्ध भएकाले पर्यटन आउन सकेका थिएन। सन् २०२०, २०१९ र २०१८ मा एकजना पनि पर्यटक आएका थिएनन्। सन् २०१७ मा भने जुलाई महिनामा ६७३ जना पर्यटक आएको बताइएको छ।
यसबर्ष बाढीपहिरोका कारण डुम्रे–बेंसीशहर–चामे सडकका विभिन्न खण्डमा बाटो अवरुद्ध भएकाले पर्यटकलाई पदमार्ग आउन समस्या भएको छ। यसबर्षको जुनमा १९५ जना, मेमा १ हजार ९६ जना, अप्रिलमा २ हजार ३८२ जना पर्यटन आएका थिए। मार्चमा १ हजार २३१ जना, फेब्रअरीमा १६९ जना र जनवरीमा ४१ जना आएका थिए।
अफ सिजनको समयमा समेत पर्यटक आएर पदमार्गमा रमाउने गरेका छन्। पदमार्ग आउने सडक सहज भए पर्यटकको संख्या बढ्न सक्ने बताइएको छ।