सिन्धुली। बेमौसमि रुपमा आएको अबिरल वर्षासँगै आएको बाढी पहिरोको कारण सिन्धुलीको सिन्धुलीगढी–चपौली–चालिसे सडक अवरुद्ध हुँदा आवत जावत र तरकारी ढुवानीका लागि कठिनाई भएको छ।
बाढीको कारणले सुनकोशी गाउँपालिकास्थित धोद्रेमा ठुलो पहिरो गएका कारण सो सडकमा यातायातका साधनहरु संचालन अबरुद्ध भएको हो। प्रादेशिक सडक डिभिजन कार्यालयले पहाडी क्षेत्रमा सडक विस्तार गर्ने क्रममा जथाभावी रुपमा भत्काउने र अनियन्त्रित दोहन गर्न थालेपछि वातावरणीय विनास र भुक्षयको समस्या बढेको छ।
त्यसैले गर्दा वर्षा हुने साथ विभिन्न ठाउँमा पहिरो गई सडक अवरुद्ध हुने गरेको छ। उक्त क्षेत्रमा विकासको नाममा विनास भएको कारणले गर्दा त्यहाँका स्थानीयहरुले सास्ती झेल्दै आएका छन्। सो क्षेत्रका स्थानीयबासीहरुले आफुलाई आवश्यक पर्ने खाद्यान्न तथा अन्य सामाग्रीहरु ढुवानी गर्न कष्ट खेप्नु परेको कारण सडक कहिले मर्मत हुने भन्ने कुरामा चिन्त व्यक्त गरेका छन्।