काठमाडौं। पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन्।
रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको हो। अर्बौँ रुपैयाँ लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको छ।
जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधिन छन्। जलविद्युत् आयोजनाका पहुँचमार्गमा पहिरो जाँदा इन्धन, निर्माण सामग्री र सुरुङ खन्न आवश्यक पर्ने विस्फोटक पदार्थ ढुवानीमा समस्या भएको हो।
नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले बाँध र दुई वटा अडिटबाट सुरुङ निर्माण रोकिएको बताएको छ।
तुँदी पावर कम्पनी प्रवद्र्धक रहेको ३७ मेगावाट क्षमताको राहुघाट मङ्गले, ४८.५ मेगावाटको अपर राहुघाट र संयुक्त ऊर्जा प्रालिले निर्माण गरिरहेको २१.३० मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजना निर्माणस्थल जोड्ने पहुँचमार्ग अवरुद्ध भएका छन्।