महोत्तरी । सोनमा गाँउपालिका–७ स्थित रुपणी खोलामा निर्माण भइरहेको पुल निर्माण कार्यमा स्थानीयले अवरोध गरेका छन् । गुणस्तरहीन काम गरेको भन्दै स्थानीयले पुल ढलानको काममा अवरोध गरेका हुन् ।
आईतबार दिउँसो निर्माणस्थल पुगेका स्थानीयहरुले पुल ढलान कार्यमा अवरोध गरेका हुन्। पुल पूर्वाधार निर्माण कार्य पनि कमसल तरिकाले भइरहेको भन्ने खबर पाएपछि आफूहरु निर्माण कार्यमा अवरोध जनाएको स्थानीयले बताए ।
केहीदिन अगाडि निर्माणस्थलमा आएको प्राविधिक टोलीले अनुगमन गर्दा पुलमा प्रयोग भएको छड डिजाईन विपरीत र गिट्टीसमेत स्थानीय मरहा खोलाबाट प्रयोग गरिएको पाईएको गाँउपालिकाको ईन्जिनियर हिरालाल मण्डलले बताए।
गुणस्तरयुक्त पुल निर्माणको लागि आफूले बारम्बार निर्देशन दिँदासमेत पालना नगर्दा स्थानीयले वाध्य भएर निर्माण कार्य रोकेको गाउँपालिका अध्यक्षले जनाए ।