धनगढी । वर्षाले अवरुद्ध सुदूरपश्चिमको हवाइ सेवा सुचारु भएको छ । नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा शुरु गरेको हो ।
वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा शुरु गरिएको हो। धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले जानकारी दिए ।
पहाडी जिल्लामा हवाइसेवा सुरु भएपछि यहाँका बासिन्दालाई राहत मिलेको छ । हवाइ भाडा सस्तो भएकाले नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ ।
धनगढीबाट पहाडी जिल्लामा निगमले हवाइ उडानका लागि तालिका सार्वजनिक गरिसकेको थियो ।
बाढी पहिरोका कारण सडक जताततै अवरुद्ध भएपछि दशैं मनाउन गाउँ गएका मानिस काठमाडौं लगायतका कर्म थलो फर्किन पाएका छैनन् । सडक विग्रिएका कारण अलपत्र परेका मानिसलाई हवाई सेवा शुरु भएसँगै राहत मिलेको छ ।