स्याङ्जा। जिल्लाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबैलाई २० युनिट बिजुली निःशुल्क उपलब्ध गराउने भएको छ । गाउँपालिकाको बैठकले प्रत्येक घरधुरीले खपत गर्ने न्यूनतम २० युनिटसम्म बिजुली आफैले भुक्तानी गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गरी आर्थिक वर्ष २०७६र७७ देखि ६र६ महिनामा पालिकाभित्रका सबै घरधुरीमा खपत हुने न्यूनतम २० युनिट बराबरको रकम भुक्तानी गर्दै आएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । ‘गाउँपालिकाको मुख्य सडक र सबै घर उज्यालो कार्यक्रम’अन्तर्गत गाउँपालिकावासीलाई न्यूनतम २० युनिटसम्मको बिजुलीको महसुल आफैले ब्यहोर्दै आएको हो ।
गाउँपालिकाले प्राधिकरणलाई हालसम्म चार हजार ६ सय १६ घरधुरीलाई २० युनिटसम्मको खर्च व्यहोर्दै आएको छ । उनले भने, “आर्थिक अभावका कारण कोही पनि नागरिकले अँध्यारोमा बस्न नपरोस् भनेर अभियान चलाएका हौँ। अभियानबाट अति विपन्न समुदायका नागरिक बढी लाभान्वित भएका छन् ।’
न्यूनतम २० युनिटसम्मको महसुल गाउँपालिकाले व्यहोर्ने भएपछि एक हजार दुई सयदेखि एक हजार पाँच सय परिवारले थप रकम भुक्तानी गर्नुपर्ने नदेखिएको अध्यक्ष थापाले बताए । बीस युनिटभन्दा माथि खपत भएको बिजुलीको महसुल उपभोक्ता स्वयम्ले भुक्तानी गर्नुपर्ने छ ।
गाउँपालिकाले पुराना काठका पोल हटाएर नयाँ मापदण्डका राखेको छ । गाउँपालिकाले इन्डक्सन चुल्हो वितरणमा जोड दिएको छ । ऊर्जा प्रवर्द्धन कार्यक्रमअन्तर्गत मुख्य सडक किनारमा ६० सोलार बत्ती जडान गरेको छ भने एक सय १० वटा विना सोलारका बत्ती जडान गरेको अध्यक्ष थापाले बताए ।