काठमाडौँ। बर्खा सुरु भएयता आएको बाढी र पहिरोको कारण सडक र पुलमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। सबैभन्दा बढी सडकमा क्षति भएको सडक विभागको आकलन रहेको छ। कात्तिकमा परेको बेमौसमी वर्षाका कारण अमाएको बाढीको कारणले मात्र १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको छ।यो भन्दा अगाडी बर्खाले २ अर्ब ३५ करोड रुपैयाँको क्षति भएको विभागका महानिर्देशकले जानकारी दिएका छन्।
बेमौसमी रुपमा आएको वर्षासँगैको बाढी पहिरोले क्षति पुर्याएको बझाङ र मनाङमा सडक अझै सुरु हुन सकेको छैन। त्यस्तै मध्यपहाडी र कोसी राजमार्गका विभिन्न खण्डमा पहिरो गई राजमार्ग अवरुद्ध भएको छ। बाढी पहिरोको कारण १८ वटा राजमार्गका २४४ स्थानमा पहिरो खसेको सडक विभागको तथ्यांक रहेको छ। १३९ स्थानमा एकतर्फी र ९९ स्थानमा मात्र दुईतर्फी सडक सञ्चालनमा रहेको छ। साथै मनाङ जोड्ने डुम्रे–बेंसीसहर–चामे सडकअन्तर्गत निगालाघारीमा पहिरो खस्दा कात्तिक २ देखि बाटो अवरुद्ध भएको छ।
बर्खापछि अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालन हुन नपाउँदै कात्तिक पहिलो साता भएको बेमौसमी वर्षाले सडक र पुलमा क्षति पुर्याएको हो। यसले देशभर करिब १० किमि सडक बगाएको छ भने १५ वटा निर्माण सम्पन्न भई हस्तान्तरण भएका र १० वटा निर्माणाधीन अवस्थामा रहेको पुलसहित २५ वटा पुलमा क्षति भएको छ। निर्माणाधीन पुलको क्षति भने जोडिएको छैन, बाढीले क्षति गरेको भए पनि उक्त पुल निर्माण व्यवसायी आफैंले निर्माण गर्नुपर्ने छ त्यस्तै पुलको बिमा गरिएको हुनाले निर्माण व्यवसायीलाई पुल निर्माणमा समस्या भने हुनेछैन।
बाढीले मध्यपहाडी र कोसी राजमार्गमा बढी क्षति पुर्याएको छ। त्यस्तै मनाङ र बझाङमा गरी एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको विभागको भनाई रहेको छ। मध्यपहाडी राजमार्गमा ‘क्रोनिक’ पहिरो तीन वटा छन्, यो सडकको दिगो समाधानका लागि अनुसन्धान गर्नुपर्ने सडक विभागले जनाएको छ।
बर्खा सकिएर निर्माणका काम सुरु हुंदै गर्दा अचानक भएको बेमौसमी वर्षाले नसोचेको क्षति पुर्याएको छ। हाल प्रारम्भिक विवरण मात्र आएको हुनाले सो क्षतिको तथ्यांक तलमाथि हुन सक्ने विभागले जनाएको छ। त्यस्तै संसद्को विकास तथा प्रविधि समितिले आइतबार बाढीपहिरो तथा डुबानका कारण क्षतिग्रस्त सडक पूर्वाधार र मध्यपहाडी राजमार्गबारे छलफल गरेको थियो। सो छलफलमा समितिले बाढीको कारण बन्द भएका सडक सञ्चालन गर्न सडक विभागलाई निर्देशनसमेत दिएको छ।