कावासोती। देशकै गौरबको आयोजनाका रुपमा लिएको नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी नवलपरासी खण्डमा बिजुलीको पोल सार्ने काम शुरुभएको छ।
आयोजनाका पूर्वी खण्डका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार पहिलो चरण अन्तर्गत कावासोतीको खरकट्टा जंगलक्षेत्र र बौलाहा खोला, मुकुन्दे खोला र झरही खोला पुलको आसपास स्थानमा नयाँ पोल गाड्ने काम सुरुभएको छ।
पुलको काम सुरु गर्न बिजुलीको पोलले बाधा पुर्याउने हुँदा पहिलो चरणमा पुलको आसपास र जंगलक्षेत्रबाट नयाँ पोल गाड्ने काम सुरु गरेको आचार्यले बताउनुभयो। सडकको क्षेत्रफलभन्दा बाहिर नयाँ पोल गाड्ने काममा अहिले कामदार खटिएका छन्। नयाँ पोल गाडेर तार टाँगेपछि पुरानो पोलदेखि बिजुलीको तार सार्ने काम गरिने छ।
आयोजनाकाअनुसार पहिलो चरणमा खरकट्टा जंगलको चार किलोमिटर क्षेत्रफलमा नयाँ पोल गाडिने छ । त्यसपछि अन्य जंगलक्षेत्र तथा बजार क्षेत्रमा गरी पूर्वी खण्डमा पर्ने ६५ किलोमिटर क्षेत्रफलको बिजुलीको पोल सार्ने काम हुने थापाले जानकारी दिनुभयो।