काठमाडौं। नेपाल टेलिकमको नेटवर्कबाट कल गर्दा आजभोलि एउटा फरक किसिमको धुन बज्न थालेको छ। फोन डायल गरेपछि रिङ टोन बज्नुअघि फरक किसिमको आवाज बज्ने गरेको छ।
यो टोनले फोन गर्दा लाग्ने समय अर्थात् कल सेटअप टाइमलाई दर्शाउने नेपाल टेलिकमले जनाएको छ। यसअघि कल लाग्ने समय र फोन लागिसकेपछि पनि एउटै टोन बज्ने गरेकोमा अब भने त्यसलाई फरक बनाउन कल लाग्नुअघि नयाँ टोन दिएको टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताए। यस्तो टोनले ग्राहकलाई टेलिकमको नेटवर्कबाट फोन लाग्न कति समय लाग्छ भन्ने ज्ञान प्राप्त हुनुको साथै एक नयाँ अनुभूति समेत प्रदान गर्ने टेलिकमले विश्वास लिएको छ।
उनले भने, ‘नियमकको मापदण्ड अनुसार कल सेटअपका लागि ५ सेकेन्ड वा त्योभन्दा कम समय हुनुपर्छ । त्यो हुँदा ग्राहक आफैँले मापदण्ड अनुसार सेवा उपलब्ध भएको छ कि छैन भनेर यकिन गर्न सक्छन्।’