काठमाडौं। हुलाकी राजमार्ग निर्देशनालयले चार निर्माण व्यवसायीसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको छ।
निर्देशनालयले चार वटा ठेक्काको निर्माण कार्य जिम्मा पाएका निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगरेपछि उक्त ठेक्का तोड्न प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
निर्देशनालय अन्तर्गतको रतुवा-केसलिया सडक निर्माणको जिम्मा पाएको पिएस/गजुरमुखी/मोतिदान जेभी र श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी, गान्धी मनमोहन मार्ग विस्तारको जिम्मा पाएको कान्छाराम कन्स्ट्रक्सन कम्पनी र सहिद चोकदेखि भीमपुरसम्मको सडक निर्माणको जिम्मा पाएको याक्थुम्हांग–साप जेभी लगायतका निर्माण कम्पनीहरुसँग ठेक्का तोड्न स्पष्टीकरण माग गरिएको छ।
यी कम्पनीलाई पटकपटक लिखित तथा मौखिक ताकेता गर्दा पनि काम अगाडि नबढाएपछि ठेक्का तोड्न लागिएको निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार यी सबै निर्माण व्यवसायीले अहिलेसम्म गरेको निर्माण कामको प्रगति सन्तोषजनक छैन्।
आर्थिक वर्ष २०६२/६३ सालबाट हुलाकी राजमार्ग विस्तारको कार्य सुरु भएको हो। नेपालको पूर्व–पश्चिम हुँदै तराईका बस्तीहरूमा यातायातको सहज पहुँच विस्तार गर्ने लक्ष्यसहित राजमार्ग विस्तारको कार्य थालिएको थियो। राजमार्गले पूर्वमा झापाको केचनादेखि पश्चिममा कञ्चनपुरको दोधारा चाँदनीसम्मको भू-भागलाई समेटने भनिएको छ। तर निर्माण व्यवसायीहरुको लापरवाहीका कारण समयमा सम्पन्न हुन सकेका छैनन्।
