नवलपुर। नवलपरासी पूर्वको पहाडी गाउँपालिका बुलिङटार–२ मा कुलो मिचेर सडक विस्तार गरिएपछि खेती बाँझो भएको छ । कालिगण्डकी करिडोर विस्तार गर्ने क्रममा कुलो मिचेर सडक बनाइदिएपछि खेत बाँझै भएको हो ।
बाटोले कुलो सबै भत्काएपछि दुई हजार रोपनी खेत बाँझै भएको स्थानीयको गुनासो छ । भाङवारीको करिब दुई हजार रोपनी खेतमा रोपाइँ हुन कुलोमा पानी बग्नुपर्छ । कुलो मासिएपछि यस क्षेत्रका खेती बाँझो भएका छन् । पछि कुलोमा पानी जाने गरी सानो ट्रयाक खनिएको भएपनि माथिबाट ठूलो पहिरो झरेपछि कुलो पुरै पुरिएको थियो । बाँझो हुँदा करिब तीन सय परिवारमा यो वर्ष विहान बेलुका चुल्हो बाल्न गाह्रो पर्ने स्थानीयको भनाइ छ ।
साठीकुलोको मैदानै गएको र पछि ट्र्याक खोलिदिएको भएता पनि वर्षातको समयमा माथिबाट खसेको पहिरोले कुलो भत्किएको र समयमै सम्बन्धित निकायले पहल नर्गदा कुलो बनाउन नसकिएको किसानहरु बताउँछन।
नजिकै बगेको लादी खोलाबाट सधैँ कुलो भरी पानी बगिरहन्थ्यो तर यस पटक लादी खोला समेत उर्लिदा थप समस्या बढेको उनीहरुको भनाइ छ ।
छोटो र सजिलो कुलो हुदाँहुदै पनि खेत रोप्न नसकिएको प्रति उपभोक्ता समितिका अध्यक्ष भिम बहादुर गंरजा मगरले दुखेसो पोखे। गाउँपालिकाको कमजोर नेतृत्व र कालीगण्डकी करिडोरको ठेकेदार कम्पनी मुख्य दोषी रहेको अध्यक्ष गरंजा मगरले बताए ।