पर्वत। गण्डकी प्रदेशका चार जिल्लाहरू पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा झण्डै सात घण्टादेखि विद्युत् सेवा अवरुद्ध भएको छ।
नेपाल विद्युत् प्राधिकरणको पर्वत वितरण केन्द्रका अनुसार १३२ के.भि. मादी–पोखरा प्रसारण लाइन अवरुद्ध हुँदा बिहीबार बिहान साढे पाँच बजेदेखि चार जिल्लामा विद्युत् अवरुद्ध भएको हो।
पर्वतको मोदी गाउँपालिकादेखि पोखरामा जडान भएको लाइनमा समस्या आएको भए पनि कहाँनेर के समस्या आयो भन्ने पत्ता नलागेको बताइएको छ।
‘पोखरादेखि मोदीसम्मको लाइनमा तार चुँडियो की, टावर नै ढल्यो की वा अरू नै केही भयो की भन्ने अझैसम्म पनि पत्ता लाग्न सकेको छैन। प्राविधिक टोलीले लाइन बिस्तार गरिएकै बाटो हिँडेर फल्ट पत्ता लगाउने प्रयास भइरहेको छ। फल्ट पत्ता लागेपछि पनि सामान्य खालको भएमा त मर्मत भइहाल्न सक्ला। तर टावर नै ढल्ने वा जटिल समस्या भएमा विद्युत् सेवा सुचारु हुन समय लाग्ने प्राधिकरणले जनाएको छ।
मंगलवारदेखि भइरहेको निरन्तरको वर्षा नरोकिएका कारण पनि विद्युत् लाइनमा आएको समस्या पत्ता लगाउन कठिनाइ भइरहेको छ। मर्मतका लागि गएको टोलीलाई वर्षाले समस्या बनाएको छ।