काठमाडौं। दोलखाको भीमेश्वर नगरपालिकाको बजार क्षेत्रमा स्मार्ट स्ट्रिट लाइट जडान गर्न सुरु भएको छ। एक करोडभन्दा बढीको लगानीमा स्मार्ट स्ट्रिट लाइट जडान गर्न सुरु भएको हो।
नगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानीमा सडक बत्ती जडान गर्न सुरु गरिएको नगरपालिकाले जनाएको छ।
एक करोड ३९ लाख रुपियाँ लागतमध्ये ८० लाख रुपियाँमा जडान गर्ने ठेक्का सम्झौता भएअनुसार काम सुरु भएको हो। सामान आइसकेको छ। कोरोनाका कारण दुई वर्ष ढिला भए पनि जडान सुरु भएको छ।
भएका पुराना पोललाई समेत प्रयोग गरी करिब एक सयवटा पोल गाडिने बताइएको छ। स्मार्ट सडक बिजुली बत्तीको विशेषता बजारमा भीडभाड हुँदा चहकिलो र भीड नहुँदा मधुरो बल्ने गर्दछ। भीडभाडमा यसले सुरक्षाको अनुभूति पनि दिने नगरपालिकाको विश्वास छ। बसपार्क, सातदोबाटो, चरीघ्याङ, पाटीखोला, सिमपानी, चरीकोट बजार र नगरपालिकाको कार्यालयसम्मका मुख्य चोकहरूमा सडक जडान हुने नगरपालिकाले बताएको छ।