काठमाडौं। पर्वतमा एउटा सिँचाइ आयोजना २८ वर्षमा निर्माण सम्पन्न भएको छ। जलजला गाउँपालिका–७ स्थित सल्यान सिँचाइ आयोजनाको काम यति लामो समयपछि पूरा भएको हो।
विसं २०५१ मा निर्माण सुरु भएको सो आयोजनाको नहर हालै सम्पन्न भएको छ। उक्त नहर बर्सेनि सरकारको थोर–थोरै लगानी र स्थानीयको श्रमदानबाट निर्माण गरिँदै आएको थियो। सिँचाइ कुलो बनेपछि उक्त ठाउँका दुई सय परिवार लाभान्वित भएका छन्। झण्डै ५० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको बताइएको छ।
नहर पूरा नहुँदा सामान्य खनिएको कुलोमा पानी चुहावट हुने समस्या थियो। नहर निर्माण सम्पन्न भएपछि मुहानबाट आएको जति पानी खेतमा पुग्न थालेको गाउँपालिकाले जनाएको छ। आव २०७६।७७ मा गण्डकी प्रदेश सरकारवाट विनियोजित रु एक करोड ९७ लाखमा नहरको काम सम्पन्न भएको हो। उक्त बजेट ठेक्कामार्फत कार्यान्वयन गरी काम सम्पन्न भएको हो। शाखा नहर बनाउनका लागि पनि योजनालाई निरन्तरता दिन पहल गरिरहेको गाउँपालिकाको भनाइ छ। यसपालि धान रोप्न र पानी लगाउन विगत जस्तो धेरै दिन पालो लगाउनु नपरेको स्थानीयले बताए। लामो समयपछि निर्माण भएको आयोजना अन्तिम समयमा गण्डकी प्रदेश सरकारअन्तर्गतको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले सम्पन्न गरेको हो।
धाइरिङ धवलागिरि क्षेत्रमा सबैभन्दा धेरै व्यावसायिक तरकारी खेती हुने गाउँ हो। यहाँ ताजा तरकारीको साथै बीउ पनि उत्पादन हुन्छ। सल्यान सिँचाइ आयोजना निर्माण हुनुअघि सल्यानमा घैया धानखेती हुन्थ्यो। सिँचाइ आयोजना निर्माण भएसँगै गुडुरा, गौरिया जातको धान भित्रिएको र सल्यानका कृषकको जीवनस्तरमा सुधार ल्याएको स्थानीयले बताए।
आयोजनाको शुक्रबार गण्डकी प्रदेश सरकारका सभामुख नेत्रनाथ अधिकारी र संविधानसभा सदस्य अर्जुनप्रसाद जोशीले संयुक्तरूपमा शिलालेख अनावरण गरेर उद्घाटन गरे।