जाजरकोट। तीन मुख्य राजमार्गको बीचमा पर्ने जाजरकोटमा नेपाली सेनाले राति पनि हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेका छन्।
चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्यामशरण गोतामेका अनुसार नेपाली सेनाको चन्दननाथ गणले श्रमदानसहित रु नौ लाखको लागतमा राति पनि सजिलै हेलिकप्टर अवतरण गर्न मिल्ने हेलिप्याड निर्माण गरेको हो।
पटकपटक बाढीपहिरो तथा अन्य प्राकृतिक प्रकोपबाट समस्या भोग्दै आएका जाजरकोटवासीले उद्धार तथा व्यवस्थापनमा रुकुमको चौरजहारीस्थित विमानस्थल प्रयोग गर्दै आएका थिए। हेलिप्याड निर्माणसँगै अब जिल्लाभित्रबाट उद्धार तथा राहतका कामहरु रात्रिकालीन अवस्थामा पनि सजिलै गर्न सकिने भएको छ।
हेलिप्याडको अभावमा वर्षौंदेखि रुकुम पश्चिमको चौरजहारी विमानस्थलनै प्रयोग गर्नुपर्दा बिरामीको अवस्था झन जटिल हुनाका साथै लामो दूरी पार गर्नुपरेकाले राहतको काममा समेत ढिला हुँदै आएको थियो।
उक्त हेलिप्याडको उद्घाटन श्री नं ४ वाहिनीपति सहायक रथी हरेन्द्र पाठकले गरेका थिए।सुरक्षा एवं हेलिप्याडको हेरचाहका लागि सेना नै अग्रसर हुने भएकाले उक्त हेलिप्याड गणभित्र निर्माण गरिएको हो।
विभिन्न दुर्घटनादेखि विपत्ति एवं महामारीका बेलामा रातको समयमा समेत आपत्कालीन अवस्थाका र सिकिस्त बिरामीलाई हेलिकोप्टरबाट उद्धार गरी ज्यान बचाउन एवं विपत्को समयमा पीडितहरुको उद्धार एवं उनीहरुलाई राहत वितरण कार्यमा उक्त हेलिप्याडले सहयोग पुर्याउने प्रमुख सेनानी गोतामेले बताए।
अघिल्लो वर्ष बारेकोट गाउँपालिका-४ सार्कीटोलमा बाढीपहिराबाट भएको मानवीय क्षतिको बेला नेपाली सेना नै पहिले घटनास्थलमा पुगेको थियो।