रोल्पा। बाढी पहिरोको कारण लामो समयदेखि अवरूद्ध भएको रोल्पाको सडक खुलाउन बिष्फोटक पदार्थको प्रयोग गरिएको छ। सुनिलस्मृति गाउँपालिका वडा ७ अन्तर्गत सुलीचौर हुँदै प्यूठानको बिजुवार पुग्ने सुलीचौर–आरेस सडकखण्ड झन्डै वर्षदिनदेखि अवरूद्ध रहेको थियो।
मंगलबारदेखि सो सडकखण्ड खुलाउन काम सुरू गरिएको छ। चट्टानसहित सडकमा खसेको ढिस्को नेपाली सेनाको प्राविधिक टोली प्रयोग गरी फुटाउन सुरू गरिएको प्रहरी नायब उपरीक्षकले बताएका छन्।
सडक भन्दा माथिबाट पहाडको ढिस्को सडकमा खसेपछि वर्षदिनदेखि यो सडक अवरूद्ध भएको थियो। चट्टान फुटाउन बिष्फोटक पदार्थ प्रयोग गरि अब १५ दिनजति काम गर्दा सडक सुचारू गर्न सक्ने कुरा प्रहरी नायब उपरीक्षकले बताएका हुन्।
झन्डै २० मिटर लम्बाई र १५ मिटर चौडाई भएको ढिस्को सडकमा थुप्रेकोले त्यो हटाउन सुनिलस्मृति गाउँपालिकाबाट डोजर र ब्रेकरसमेत प्रयोग गरिएको छ। सो सडकखण्ड अवरूद्ध हुँदा त्यहाँका स्थानीय बासिन्दा वर्षदिनदेखि समस्यामा परेका छन्।