काठमाण्डौं। कर्णाली करिडोरअन्तर्गत कालीकोट नरहरिनाथ गाउँपालिका–८ खुलालुमा पक्की पुल बने पनि किनाराका सडक अधुरै रहेका छन्। पुल बनेको एक वर्ष बित्न लाग्दासमेत किनाराका सडक बन्न सकेका छैनन्। कर्णाली राजमार्गबाट पुल जोड्ने सडक डोजर जानका लागि मात्र बनाइएको सडकमा पूर्णरूपमा सडक नबन्दै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
अहिले साना बोलेरो र साना मिनी मालबाहक ट्रक चले पनि ठूला बस र ट्रक चल्न ग्राहो हुने गरेको सवारीधनी कालीकोट नरहरिनाथ गाउँपालिका–१ कोटवाडाका नेत्र विष्टले बताए। “मालबाहक ट्रक चलाउन निकै अप्ठयारो रहेको छ”, उनले भने , “दुर्घटनाको जोखिम निकै छ।”पुल किनाराको सडक नबन्दा कर्णाली करिडोरमा पुल नहुँदा यात्रुहरूले सास्ती खेप्नुपरेको नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टले बताए।
“धेरैपटक दुर्घटना भइसक्यो, पुल बने पनि नदी किनाराको वारिपारि सडक बन्न सकेको छैन”, उनले भने , “कर्णाली राजमार्गबाट पुलसम्मको सडक बनाउनका लागि विभिन्न निकायसँग पहल थालिएको छ।”कर्णाली करिडोरमा पुल सञ्चालनमा आएपछि हुम्ला, मुगु, बाजुरा र कालीकोट जिल्लामा यातायातका साधन सहजै सञ्चालनमा आउने अध्यक्ष विष्टको भनाइ छ। “कर्णाली करिडोरमा अब कर्णाली राजमार्गबाट यातायातका साधन सहजै सञ्चालनमा आउने भएका छन्”, उनले भने , “यहाँका नागरिकको दैनिकीमा सहज हुने भएको छ।”