काठमाडौं। निर्माणको सिजन नभएको र लगातारको वर्षाको कारणले निर्माण कार्यमा बाँधा उत्पन्न भएपछि दसैंअघि सिमेन्टको भाउ घटेको थियो। सिमेन्टको भाउ घटेपछि सिमेन्ट बजारमा असर पुर्याएको उद्योगीहरूको भनाइ रहेको थियो। तर दसैं सकिएलगत्तै उद्योगीले सिमेन्टको भाउ बढाएका छन्। अहिले कोइलाको मूल्य अत्यधिक मात्रामा बढेको कारण सिमेन्टको भाउ बढेको उद्योगीहरूले जानकारी गराएका छन्।
सिमेन्ट उद्योगीहरुका अनुसार सिमेन्टका लागि किल्ङ्कर बनाउनुपर्ने र त्यसका लागि कोइला अत्यन्तै आवश्यक कच्चा पदार्थ भएकाले हाल कोइलाको मूल्य छ गुणासम्म बढेको हुनाले सिमेन्टको मुल्य बृद्धि भएको हो। कोइलाको आपूर्ति कम भएकाले यसको अभाव छ। त्यसकारण कोइलाको लागत बढेको हुनाले सिमेन्टको भाउमा असर पर्यो त्यसैले सिमेन्टको मूल्य अझै बढाउने कुरा रहेको अर्घाखाँची सिमेन्टका बजार प्रमुखले जनाएका छन्।
दसैंअघि अर्घाखाँचीले ओपिसी सिमेन्टको भाउ अघिल्लो वर्षको यही समयमाभन्दा बोरामा एक सय रूपैयाँ घटाएर कारोबार गरिरहेको जानकारी दिएको थियो। त्यो बेला अर्घाखाँची ओपिसीको कारखाना मूल्य प्रतिबोरा ६ सय २० रूपैयाँ थियो। भ्याट, ढुवानी खर्च लगायत जोडेर वितरकसम्म पुग्दा ७ सय ६६ रूपैयाँ २५ पैसा हुन्थ्यो। यसमा वितरकले दसदेखि बीस रूपैयाँसम्म नाफा राखेर बिक्री गर्छन्। त्यसैले उपभोक्ताले सात सय ७० देखि ७ सय ९० रूपैयाँसम्ममा सिमेन्ट पाइरहेका थिए।
हाल अर्घाखाँची सिमेन्ट उद्योगले बोरामा २० रूपैयाँ बढाएको छ। हाल अर्घाखाँची ओपिसीको कारखाना मूल्य नै प्रतिबोरा ६ सय ४० रूपैयाँ पुगेको छ भने उपभोक्तासम्म आइपुग्दा ७ सय ९० देखि ८ सय २० रूपैयाँसम्म पर्छ।
त्यसैगरी शिवम् सिमेन्टको मूल्य पनि गत महिनाको तुलनामा ३० देखि ३५ रूपैयाँ बढेको छ। गत असोजमा शिवम् सिमेन्टको उपभोक्ता मूल्य ७ सय ६५ देखि ७ सय ८० रूपैयाँ थियो। हाल सो मुल्य बढेर ७ सय ९५ देखि ८ सय १५ रूपैयाँ प्रतिबोरा पुगेको कम्पनीले जानकारी दिएको छ।