
काठमाडौं। सान्जेन जलविद्युत कम्पनीको आईपीओमा ३४ करोड ४४ लाख ३७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएसका अनुसार यसमा आइतबार ९ असोज बिहानसम्म १६ हजार ९८५ जना आवेदकले ३४ लाख ४४ हजार ३७० कित्ताका लागि आवेदन दिएका छन्। यसर्थ, अझै २ लाख ५ हजार ६३० कित्ता सेयर बिक्री हुन बाँकी रहेको छ।
सान्जेनले गत ५ भदौदेखि १ सयअंकित मूल्यमा ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो। यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं. ५ चिलिमे र आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङका बासिन्दाले आवेदन दिन सक्नेछन्।
यस्तै, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन्। स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन्। यसमा ४ असोजसम्म आवेदन दिन सकिनेछ।
यो आईपीओमा नागरिक लगानी कोष बिक्री प्रबन्धक रहेको छ। यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबि क्यापिटल रहेका छन्। यसमा सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ।